परिचय:

थाहानगर खानेपानी व्यवस्थापन बोर्ड थाहा नगरपालिकाको खानेपानी तथा सरसफाइ सम्बन्धी नीति निर्माण गर्ने क्षेत्रगत नेतृत्वदायी निकाय हो। थाहा नगरपालिकाले स्थानीय राजपत्र प्रकाशन गरी खानेपानी व्यवस्थापन बोर्ड गठन गरी अधिकार प्रदान गरेको छ । खानेपानी व्यवस्थापन बोर्ड ऐन अनुसार अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था हुने छ । थाहानगर खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०७६ थाहा नगरपालिकाको नगर सभामा स्वीकृत गरी मिति २०७६।१०।२० मा स्थानीय राजपत्रमा प्रकाशन भई थाहानगर खानेपानी ब्यवस्थापन बोर्ड, ऐन, २०७६ को दफा ३ र ९ बमोजिम गठन भएको हो । बोर्डलाई खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यहरु व्यवस्थापन र नियमन गर्ने जिम्मेवारी रहेको छ । बोर्ड अन्तर्गत खानेपानी तथा सरसफाइ समिति तथा उपसमितिहरु, योजना सम्पन्न गर्नका लागि गठित उपभोक्ता समिति र योजना संरक्षण समितिहरु रहेका छन्।

दूरदृष्टि:

  • सुनिश्चित, सुरक्षित र सर्वसुलभ खानेपानी तथा सरसफाइ सेवा एवम् स्वच्छता ।

लक्ष्य:

  • दिगो विकासको क्षेत्रगत लक्ष्य हासिल गर्दै वि.सं. २१०० सम्म सबैलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने।

उद्देश्य:

  • खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि दिगोरूपमा श्रोतमा पानीको उपलव्धता सुनिश्चित गर्ने,
  • सबैलाई सर्वसुलभ रूपमा पर्याप्त, सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सेवामा समन्यायिक पहुँच पुर्याउने,
  • जल प्रदूषण नियन्त्रण र वातावरणीय सरसफाइ प्रवर्द्धन गर्ने,
  • खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुशासन प्रवर्द्धन गर्ने ।